खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
खोटाङ, ६ चैत – खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका को कार्यालय भएर पञ्चमीबजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बहुवर्षीय योजनामा विनियोजन भएको रु ३० करोड बजेटबाट उक्त सडक कालोपत्र सुरु गरिएको हो।
भौतिक पूर्वाधार विकास कार्यालयमार्फत आह्वान गरिएको ठेक्काअनुसार युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी, काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजारमा सम्झौता गरी काम थालेको हो। सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभयो।
योजनाअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक कालोपत्र गरिनेछ। यस सडकले खानीडाँडा हुँदै जिल्लाको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापना गर्नेछ र स्थानीय बासिन्दालाई आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
उक्त सडकको शिलान्यास निर्वतमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई ले गर्नुभएको हो। उहाँले विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो। सडक कालोपत्र सम्पन्न भएपछि यातायात सेवा सहज हुने, समय र खर्च बचत हुने तथा जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

