आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना
काठमाडौं, २१ वैशाख – आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान भने पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
दिउँसोचाहिँ पहाडी भेगका केही र तराईका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् समीर श्रेष्ठका अनुसार एकसाथ धेरैवटा मौसम प्रणालीको प्रभावका कारण केही दिनयता दैनिक वर्षा भइरहेको हो। हाल नेपालको मौसममा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।
मौसमविद् श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकामा पनि मौसम बदली र वर्षाको सम्भावना छ। ‘साँझपख क्षणिक वर्षा हुने सम्भावना छ’, मौसमविद् श्रेष्ठले भने, ‘तर मौसम बदलीचाहिँ दिनभरजस्तै हुने देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भूभागका केही र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेकाेछ।

