झापाका पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवारको सुरुआती अग्रता
झापा, २२ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले सुरुआती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका हुन्।
झापा निर्वाचन क्षेत्र नं–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह पाँच हजार २५४ मतसहित अग्रस्थानमा छन्। नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरेका छन्।
त्यसैगरी क्षेत्र नं–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल एक हजार ७७५ मतसहित अग्रता कायम गरेका छन्। उनलाई नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याइरहेका छन्।
क्षेत्र नं–३ मा रास्वपाका प्रकाश पाठक दुई हजार २८१ मतसहित पहिलो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा रहेका छन्।
त्यस्तै क्षेत्र नं–२ मा रास्वपाकी इन्दिरा रानामगर चार हजार ५८० मतसहित अग्रता लिइरहेकी छन्। नेकपा (एमाले)का देवराज घिमिरेले ७१६ मत प्राप्त गरेका छन्।
क्षेत्र नं–१ मा रास्वपाकी निशा डाँगी तीन हजार १७० मतसहित अग्रस्थानमा रहेकी छन्। उनलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याइरहेका छन्।
प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारले पाँचै क्षेत्रमा अग्रता लिए पनि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

