प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिकतर्फको बन्द सूची पेस
काठमाडौँ, १३ पुस – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज र भोलि निर्वाचन आयोगमा पेस गर्ने भएका छन्। आयोगले यसका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १३ र १४ गते पेस गरिएका बन्द सूचीको छानबिन पुस १५ देखि २० गतेसम्म गरिनेछ। छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दललाई सूची मिलाउन समय दिइने कार्यतालिका रहेको छ। पुस २८ देखि माघ ३ गतेसम्म मिलाइएको बन्द सूचीको पुनः जाँच गरिनेछ। माघ ४ गते बन्द सूची सार्वजनिक गरिने र माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन १०० राजनीतिक दलले ९३ निर्वाचन चिह्नसहित दर्ता गराएका छन्। तीमध्ये आयोगमा दर्ता भएका दलहरूले मात्र आज र भोलि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेस गर्न पाउनेछन्।

