इलाम–२ मा एमालेका नेम्बाङको सुरुआती अग्रता

इलाम, २२ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले सुरुआती अग्रता लिनुभएको छ।

दिउँसो ३ः३० बजेसम्मको मतगणना परिणामअनुसार नेम्बाङले ४९१ मत प्राप्त गर्नुभएको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४१ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत पाउनुभएको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो।

यस निर्वाचन क्षेत्रमा एक लाख १९ हजार ४८९ मतदाता रहेका छन्। तीमध्ये ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए।

उक्त क्षेत्रमा एक स्वतन्त्रसहित १३ राजनीतिक दलका १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभा गृहमा भइरहेको छ।

Facebook Comments Box