मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
मनाङ, २१ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किएका मतदातासँगै हिमाली जिल्ला मनाङमा पर्यटकको आगमनसमेत बढ्दै गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङका अनुसार प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढिरहेको छ।
“मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ, दैनिक रूपमा ५०–६० पर्यटक आगमन भएको अभिलेख छ,” उहाँले बताउनुभयो। उहाँका अनुसार बिस्तारै पर्यटकीय ‘सिजन’ सुरु हुँदै गएको र यस पटक निर्वाचनसमेत परेकाले मतदातासँगै पर्यटकको चहलपहल बढेको हो। “होटल सरसफाइ र बसोबासको पूर्ण तयारी नहुँदै पर्यटकको आगमन बढ्न थालेको छ,” गुरुङले भन्नुभयो।
मौसम अनुकूल बन्दै जाँदा विदेशी पर्यटकको आगमन बढिरहेको उहाँको भनाइ छ। भीडभाड कम हुने र बसोबास व्यवस्थापन सहज हुने समय भएकाले पनि यतिबेला विदेशी पर्यटक आउने क्रम बढेको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल ले जिल्लावासी मतदानका लागि आइसकेको र सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको जानकारी दिनुभयो।
निर्वाचनका कारण सुरक्षा निकायको प्राथमिकता निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित भएकाले पर्यटकलाई सचेत भएर यात्रा गर्न सुझाव दिइएको उहाँले बताउनुभयो। “पर्यटन यहाँको प्रमुख आयस्रोत हो। त्यसैले पर्यटकको सुरक्षा र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु दुवै दायित्व भएकाले आवश्यक सुरक्षा व्यवस्था गरिएको छ,” प्रजिअ पौड्यालले भन्नुभयो।
मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङतर्फ जाने गर्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्छन्। साथै, अन्नपूर्ण पदमार्ग हुँदै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने चलन पनि छ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पर्यटकले यात्रा सुरु गर्छन्। यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोड्छ। पछिल्लो समय सडक सञ्जाल विस्तारसँगै पर्यटक सवारीसाधनमार्फत चामे र खाङ्सारसम्म पुगेर त्यहाँबाट पदयात्रा सुरु गर्ने गरेका छन्।

