सभापतिको साझा उम्मेदवार नबनाए पार्टी देउवालाई बुझाइदिए हुन्छ : शशांक कोइराला
काठमाडौं, २६ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले इतर समूहबाट सभापतिको साझा उम्मेदवार नछानेमा फेरि पनि शेरबहादुर देउवा नै नेतृत्वमा आउने बताएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बत्तीसपुतलीमा शुक्रबार गरेको भेलापछि बाहिरिने क्रममा कोइरालाले साझा उम्मेदवार तोकेर पार्टी नेतृत्व लिनै पर्ने बताएका हुन्।
‘हामी एक भएर जानुपर्छ। एकजना मात्रै सभापतिको उम्मेदवार हुनुपर्छ भनेका छौँ’, उनले भने, ‘हामी चारजना दावेदारबाट एकजना सभापतिमा नउठे त फेरि पनि पार्टी देउवाकहाँ बुझाइदिए हुन्छ।’
महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिका दाबेदार नेताहरु बसेर एकजनाबारे निर्णय लिनुपर्ने बताएको उल्लेख गरे।
‘उहाँ (रामचन्द्र पौडेल) ले हामी चारजना छौँ। चारजना एकै ठाउँमा बसेर कुरा गरौँ भन्नु भएको छ’, कोइरालाले भने, ‘उहाँले आफ्नो दाबीबारे त्यस्तो कडा अडान नरहेको बताउनुभयो। त्यसो हुनाले पर्सि बस्ने केन्द्रीय कमिटी बैठकपछि चारजना बसेर सहमति खोज्ने कुरा भएको छ।’
उनले पौडेल समूहमै रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह उपत्यका बाहिर भएकाले बैठकमा नआएको बताए।
‘उहाँ उपत्यकामा नभएकै कारण यहाँ नआउनु भएको हो। हाम्रो समूहबाट बाहिरिन खोजेको भन्ने होइन’, उनले भने, ‘हामी मिलेर एकजना सभापतिको उम्मेदवार बनाउनुको विकल्प छैन। हामीबीच अलिक विभाजन भएको कुरा यही मात्रै हो।’
कोइरालाले संस्थापन इतर समूहमा कुनै विवाद नरहेको पनि बताए। ‘सभापतिको उम्मेदवारलाई लिएर मात्रै केही समस्या छ। वरिष्ठ नेता पौडेल पनि आफैं सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा देखिनु भएको छैन’, उनले भने, ‘मसँग, हामीसँग मिल्ने सूत्र त ठ्याक्कै त्यस्तो छैन। तर हाम्रो निष्कर्ष भनेको हामीबाटै एकजना सभापतिको उम्मेदवार हुने भन्ने हो।’

