मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

काठमाडौं, १३ फागुन – मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६) स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्मा ले आज निर्णय सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसअनुसार दुई उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

बैठकले नेपाली सेना का दुई प्रमुख सेनानीलाई महासेनानी पदमा पदोन्नति गर्ने तथा दुई महासेनानीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ। साथै यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालत को आदेशको अध्ययन गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ।

निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यसैगरी बिमा ऐन, २०७९ अनुसार कसुरसम्बन्धी मुद्दा निरुपणका लागि देशका सबै ७७ जिल्ला अदालतलाई तोक्ने निर्णय गरिएको प्रवक्ताले जानकारी दिनुभयो।

चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको कलङ्की–बसुन्धरा खण्डको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय पनि बैठकले गरेको छ।

यस्तै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Facebook Comments Box