त्रिभुवन विश्वविद्यालय टाइम्स हाइअर एजुकेसन वरीयतामा १५०१+ समूहमा

काठमाडौं, १३ फागुन – त्रिभुवन विश्वविद्यालय (त्रिवि) टाइम्स हाइअर एजुकेसन (टीएचई) विश्वविद्यालय वरीयतामा यस वर्ष १५०१+ समूहमा परेको छ। विश्वभरका करिब १६ हजार विश्वविद्यालय समेटिएको उक्त वरीयतामा त्रिवि १५०१ नम्बर समूहमा परेको हो।

त्रिविले सन् २०१९ देखि टीएचई वरीयतामा सहभागिता जनाउन थालेको हो। सन् २०१९ देखि २०२३ सम्म त्रिवि १ हजारभित्र रहँदै आएको थियो भने सन् २०२४ देखि हालसम्म १५०१+ समूहमा परेको विश्वविद्यालयले जनाएको छ।

विषयगत वरीयताअनुसार बिजनेस एन्ड इकानोमिक्समा त्रिवि १००१औँ स्थानमा परेको छ भने एजुकेसन स्टडिजमा ८०१औँ स्थान प्राप्त गरेको छ। इन्जिनियरिङतर्फ १००१–१२५० समूहमा परेको त्रिवि लाइफ साइन्सेजमा १००१औँ स्थानमा परेको छ।

मेडिकल साइन्स एन्ड हेल्थ विषयमा भने त्रिवि ६०१–८०० समूहभित्र पर्न सफल भएको छ। त्यस्तै फिजिकल साइन्समा १२५१औँ स्थान तथा सोसल साइन्सेजमा ८०१–१००० समूहमा परेको छ। कम्प्युटर साइन्स, कानुन, मनोविज्ञान र मानविकी विषयमा भने त्रिवि वरीयतामा पर्न सकेको छैन।

त्रिविले यूएसन्युज डटकमको वरीयतामा ९१९औँ स्थान र सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍यांकिङ (सीडब्लुयूआर) मा १६५७औँ स्थान प्राप्त गरेको जनाएको छ। सीडब्लुयूआरका अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको हो।

त्रिविका अनुसार विभिन्न अन्तर्राष्ट्रिय वरीयता प्रणालीले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्नु स्वाभाविक हो।

टीएचईले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिन्छ भने यूएसन्युजले अनुसन्धान प्रतिष्ठा, प्रकाशन र उद्धरणलाई आधार मान्ने गरेको छ। त्यस्तै सीडब्लुयूआरले पूर्वविद्यार्थीको सफलता, प्राध्यापकको उपलब्धि र अनुसन्धानलाई मुख्य मापदण्ड बनाएको छ।

त्रिविले विषयगत वरीयतामा आफ्नो प्रदर्शन सकारात्मक रहेको दाबी गरेको छ। विशेषगरी मेडिकल साइन्स एन्ड हेल्थ विषयमा प्राप्त स्थानले विश्वविद्यालयको क्षमता पुष्टि गरेको जनाएको छ। साथै इन्जिनियरिङ, शिक्षा, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञान क्षेत्रमा पनि त्रिवि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रहेको विश्वविद्यालयको भनाइ छ।

विश्वविद्यालयले आगामी दिनमा अनुसन्धानमा लगानी वृद्धि गर्ने, स्कोपस र वेब अफ साइन्स सूचीकृत पत्रिकामा प्रकाशनलाई प्रोत्साहन गर्ने, अनुसन्धान समूह गठन गर्ने तथा पोस्ट–डक्टरल र पीएचडी कार्यक्रमलाई सुदृढ बनाउने योजना अघि सारेको छ।

यसैगरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार, संयुक्त डिग्री कार्यक्रम सञ्चालन, प्राध्यापक तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम विस्तार र अंग्रेजी माध्यमका पाठ्यक्रम वृद्धि गर्ने तयारी गरिएको छ।

सूचना प्रविधिमा आधारित शिक्षण विस्तार, उद्योगसँग सहकार्य, स्टार्टअप इन्क्युबेसन सेन्टर स्थापना तथा डिजिटल उपस्थिति सुदृढ गर्ने नीति पनि विश्वविद्यालयले लिएको जनाएको छ।

त्रिविले पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमार्फत आगामी वर्षमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा थप सुधार गर्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box