भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा सुरु
भादगाउँ, २६ माघ – भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा आजदेखि सुरु भएको छ । बैठकमा नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुभयो ।
विचार र सिद्धान्तमा अडिग रही इमान्दारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै उहाँले सभामा सबै सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।
उहाँले संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिह्न नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्लाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दल पनि खारेज हुनुपर्ने बताउनुभयो ।
आव २०७८/७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयका साथै थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको बताउनुभयो ।
केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सःशर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
यसअघि सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिले कार्य गर्नुपर्ने बताउनुभयो ।
सांस्कृतिक नगरका नगरवासी परम्परागत र अन्धविश्वास नभई विज्ञान र प्रविधिमैत्रीसमेत हुने भएकाले सोहीअनुसार नगरवासीको सांस्कृतिकस्तर उकास्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।
अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पूँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले जनताको निःस्वार्थरुपमा सेवा गर्नु नेमकिपाको परिचय बनिसकेको बताउनुभयो ।
उहाँले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको दाबी गर्नुभयो । एमसिसीविना यो देश विकास सम्भव छैन भन्ने दास मानसिकता शासक दलमा रहेको उहाँले आरोप लगाउनुभयो ।
नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट ‘ख्वप मोडल’ विकास गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष उकेश कवाँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वालगायतले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न नगरसभाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

