प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ

काठमाडौं, १३ फागुन – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे मंगलबार सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ आयोजित बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो सुरक्षा तयारीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। सुरक्षा निकायका अनुसार हालसम्म निर्वाचनलाई लक्षित गरी कुनै ठूलो सुरक्षा चुनौती देखिएको छैन।

बैठकमा ओमप्रकाश अर्यालराजकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो। ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउँदै सम्भावित जोखिमप्रति सतर्क रहन निर्देशन दिनुभएको थियो।

नेपाली सेनाले देशभर २७५ स्थानमा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको, हेलिकप्टर स्ट्यान्डबाइ राखिएको तथा मतदान सामग्रीको सुरक्षित ढुवानीका लागि विशेष योजना बनाइएको जानकारी गराएको छ। सेनाले हालसम्म १३ स्थानमा शंकास्पद वस्तु निष्क्रिय पारिसकेको जनाएको छ।

सुरक्षा निकायले सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, मिसइन्फरमेशन र डिसइन्फरमेशनलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन्। मौन अवधिको पूर्वसन्ध्यामा यस्ता गतिविधि अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाइएको जानकारी दिइएको छ।

प्रधानमन्त्री कार्कीले पनि गलत सूचना फैलिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “मैले आफ्नै राजीनामाको गलत खबरसमेत पढ्नुपरेको छ।” उहाँले यस्ता भ्रमपूर्ण सूचनाबाट सचेत रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो।

सुरक्षा निकायले आवश्यक परेमा ३० मिनेटभित्र थप सुरक्षा टोली परिचालन गर्न सकिने तथा अधिकतम ९० मिनेटभित्र थप सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। साथै, गृह मन्त्रालयमा दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र प्रत्येक प्रदेशमा एक एआईजी तथा गृह मन्त्रालयबाट एक सहसचिव खटाएर निगरानी गरिने व्यवस्था गरिएको छ।

शंकास्पद रूपमा धेरै मत खस्ने स्थानहरूमा विशेष निगरानी राख्ने, त्यस्ता ठाउँमा नयाँ कर्मचारी खटाउने तथा कुनै अनियमितता भएमा कडा कारबाही गर्ने तयारी गरिएको सुरक्षा निकायले जनाएको छ।

सम्भावित झडप रोक्न प्रत्येक उम्मेदवारका प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग समन्वयमा राख्ने, फरक दलका उम्मेदवारबीच प्रत्यक्ष भेटघाट नहुने गरी घरदैलो कार्यक्रमको रुट व्यवस्थापन गरिएको जानकारी पनि सुरक्षा निकायले प्रधानमन्त्रीलाई गराएका छन्।

Facebook Comments Box