संरक्षण अभावमा जीर्ण हुँदै ऐतिहासिक टक्सार बजार

भोजपुर, १४ भदौ – औद्योगिक, व्यापारिक र सांस्कृतिक महत्व बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’का नामले चिनिने यो क्षेत्र बसाइँसराइका कारण सुनसान बनेसँगै क्रमशः जीर्ण बन्दै गएको स्थानीयबासी बताउँछन् ।

स्थानीय अम्रिका तामाकारका अनुसार टक्सार बजार नेपालकै गौरव बोकेको स्थल भए पनि संरक्षणको अभावमा वर्षैपिच्छे खण्डहरमा परिणत हुँदै गएको छ । विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा उत्पादन हुने ऐतिहासिक तथ्य रहँदै आएको छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि खनिज पदार्थ उत्खनन थालेपछि यहाँ टक्सार अड्डासमेत स्थापना भएको थियो ।

यो क्षेत्रमा विसं १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान र तीनधारा जस्ता धार्मिक तथा सांस्कृतिक स्थल रहेका छन् । तर बस्ती घट्दै जाँदा यी सम्पदा पनि ओझेलमा पर्दै गएको स्थानीय राजकुमार श्रेष्ठले बताए । उनका अनुसार टक्सारका दजनौँ धार्मिक स्थल पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना भए पनि बजार जीर्ण बनेकाले महत्व ओझेलमा परेको छ ।

राणाकालमा टकमारीमार्फत यहाँ बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको जनश्रुति छ । विसं २०१३ मा तत्कालीन राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रूपमा घोषणा गरेका थिए ।

त्यस समय करिब २००–३०० परिवार बसोबास गर्ने यो क्षेत्रमा अहिले बस्ती झन् घट्दै गएको छ । स्थानीयवासीले ऐतिहासिक टक्सार बजारलाई जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको बताएका छ

Facebook Comments Box