आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी, १२ फागुन : जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योति मण्डल माध्यमिक विद्यालय दाताहरूको आर्थिक सहयोगबाट ऋणमुक्त भएको छ । विद्यालयले निजी स्रोतबाट माध्यमिक तह सञ्चालन, जग्गा खरिद तथा भवनसहितका पूर्वाधार निर्माणका लागि प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।

विद्यालयका पूर्वशिक्षक तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको सम्पूर्ण ऋण तिरेर विद्यालयलाई ऋणमुक्त बनाएका हुन् । प्रधानाध्यापक खत्रीका अनुसार पुन परिवारले सहकारीमा रहेको रु नौ लाख २९ हजार तिर्दै धितोमा राखिएको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको हो ।

सहयोग कमलबहादुर पुर्जा, पार्वती, राधा, सीता, शान्ति र पनाति पवनको तर्फबाट प्राप्त भएको जनाइएको छ । विद्यालयले सोमबार बाँसखर्कमा आयोजित कार्यक्रममा सहयोगदाताहरूलाई सम्मान गरेको थियो । हाल कक्षा १० सम्म अध्ययन–अध्यापन हुँदै आएको विद्यालयमा ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

Facebook Comments Box