भारतीय कडाइपछि इलामका चिया उद्योग बन्द हुने, हजारौँ किसान प्रभावित

इलाम, ३१ जेठ भारतले नेपाली चियाको आयातमा नयाँ कडाइ लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग सञ्चालन स्थगित गर्ने घोषणा गरेको छ।एसोसिएसनमा आबद्ध ५३ उद्योगले उत्पादन गरेको चिया बिक्री नहुँदा भण्डारण क्षमता भरिएको छ।

संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाइए पनि बिक्री हुन नसकेकाले उद्योग बन्द गर्नुबाहेक विकल्प नरहेको बताउनुभयो। उहाँका अनुसार किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग सञ्चालन निरन्तर गर्न कठिन भएको छ।

भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीमा ल्याइने चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता पनि रहेको छ।

उद्योगी गोपाल कट्टेलले भारतीय पक्षले विभिन्न प्राविधिक झन्झट सिर्जना गरेर नेपाली चिया रोक्दा उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको बताउनुभयो। उहाँले निर्यात समस्या समाधानका लागि नेपाल सरकारले समयमै कूटनीतिक पहल गर्नुपर्ने धारणा राख्नुभयो।

उद्योग बन्द हुँदा हजारौँ किसान प्रत्यक्ष प्रभावित हुनेछन्। एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान छन्। यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ।किसान राजन भट्टराईले उद्योग बन्द भएपछि हरियोपत्ती बिक्री नहुने र परिवारको रोजीरोटी नै संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभयो।

सूर्योदय नगरपालिकाले भारतीय अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार भारतीय चिया बोर्डले कोलकातामा पुगेका नेपाली चियाका बोराबाट नमूना संकलन गरेर परीक्षण गर्न थालेको छ, तर एक सातापछि पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री–वितरण रोकिएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुन्छ, जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ। इलाम, पाँचथर र धनकुटा नेपाली अर्थोडक्स चियाका प्रमुख उत्पादन क्षेत्र हुन्।

Facebook Comments Box