कञ्चनपुरमा दिउँसै हात्ती बस्ती प्रवेश, स्थानीय त्रसित
कञ्चनपुर, २१ साउन
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा जङ्गली हात्ती दिउँसै बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन्। मङ्गलबार दिउँसो एक भाले वयस्क हात्ती गाउँ पसेको थियो। उक्त हात्ती सडक तथा खेतबारी हुँदै हिँडिरहेको देखिएपछि स्थानीयले होहल्ला गर्दै हात्तीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लखेटेका थिए। यद्यपि हात्ती पुनः बस्ती फर्कन सक्ने भन्दै स्थानीयमा अझै भयको वातावरण रहेको छ।
स्थानीय बासिन्दा लक्ष्मण रानाले भन्नुभयो, “हात्तीले हरेक वर्ष बालीमा क्षति पुर्याउँछ। गत वर्ष त एक जनाको ज्यानसमेत गएको थियो। अहिले हामी अत्यधिक त्रसित छौं र सम्बन्धित निकायसँग हात्ती नियन्त्रणको माग गरिरहेका छौं।” गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार लालझाडी संरक्षण क्षेत्र हुँदै जङ्गली हात्ती प्रत्येक वर्ष जाई र पर्सिया गाउँ पस्ने गर्छन्। ती हात्तीहरूले किसानको बाली र कहिलेकाहीँ जनधनमा समेत क्षति पुर्याउँदै आएका छन्।
लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा हाल पाँचवटा जङ्गली हात्ती रहेको जानकारी दिनुभयो। उहाँका अनुसार ती हात्तीहरू बस्ती हुँदै निकुञ्जतर्फ आवतजावत गर्ने गर्छन्। “हात्ती जुनसुकै बेला पनि बस्तीमा आउन सक्ने भएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ,” जोशीले बताउनुभयो।

