मिथिला माध्यमिकी परिक्रमा : कञ्चनवन पुगेर होली उत्सव
धनुषा, १२ फागुन : मिथिलाको महाकुम्भका रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत श्रद्धालुहरू सोमबार महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली भङ्गाहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेको हो ।
परम्पराअनुसार परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले प्रत्येक वर्ष कञ्चनवनमा होली खेल्ने चलन रहेको छ । मिथिला विहारीको डोलासहित पुगेका श्रद्धालुले एकअर्कालाई रङ–अबिर लगाउँदै उल्लासपूर्वक पर्व मनाएका छन् । मिथिलामा कञ्चनवनमा होली खेलेसँगै औपचारिक रूपमा होलीको सुरुआत हुने विश्वास छ ।
परिक्रमा टोलीलाई भङ्गाहा नगरपालिकाले भव्य स्वागत गरेको थियो । नगरप्रमुख सञ्जिव साहका अनुसार श्रद्धालुका लागि विभिन्न स्थानमा प्रवेशद्वार, पण्डाल र आवासको व्यवस्था गर्नुका साथै पुवा, खीर, सर्वत, अबिर र फूलमालासहित होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
स्थानीय मठमन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता र राजनीतिक क्षेत्रका व्यक्तिहरूको सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाएको जनाइएको छ । यस वर्ष मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले समेत कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् राम र सीताले कञ्चनवनमै रङ–अबिर खेलेको जनविश्वास छ ।
मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली मनाउने र रात्रि विश्राम गर्ने परम्परा रहेको छ । फागुन ४ गतेदेखि सुरु भएको परिक्रमा यसअघि हनुमानगढी, कल्याणेश्वर, भारतको गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेको थियो । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी (माता जानकी) र मिथिला विहारी भगवान् रामचन्द्रको डोलासहित १५ दिने धार्मिक पदयात्रा प्रारम्भ भएको हो ।
कञ्चनवनपछि परिक्रमा पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर हुँदै फागु पूर्णिमाका दिन जनकपुर फर्किने कार्यक्रम रहेको छ । नेपाल र भारतका विभिन्न विश्रामस्थल समेट्ने यो परम्परागत परिक्रमा यात्रामा सहभागीले नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यस यात्रामा सहभागी हुँदा पाप नष्ट भई मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

