उदयपुरमा बस दुर्घटना, १५ जना घाइते
उदयपुर, ११ फागुन – उदयपुरको मदन भण्डारी सडक मार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस अँधेरीस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा कटारी नगरपालिका–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ, १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी घाइते भएका छन्।
यस्तै, त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत, २० वर्षीया रेस्मा बस्नेत तथा उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये छ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

