सिन्धुलीमा हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते
सिन्धुली, ११ फागुन – सिन्धुलीको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार रहेका छन्। मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
त्यसैगरी कम्पनीमा कार्यरत चिनियाँ नागरिक ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते भएका छन्।
उनीहरूको कान, टाउको, हात, छाती र मुखमा चोट लागेको छ। घाइतेहरूको मरिणकै कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर विवाद सुरु भई झडपमा परिणत भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

