धादिङ बस दुर्घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक, छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौँ, ११ फागुन – धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय आकस्मिक बैठक बसेको छ।

बैठकमा गृहमन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए। बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकताका साथ प्रभावकारी बनाउन, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गर्ने र छानबिन प्रतिवेदन शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, यातायात क्षेत्रको नियमनलाई कडाइका साथ लागू गर्दै नियामक निकाय र बस व्यवसायीलाई थप जिम्मेवार बनाउने निर्णय गरिएको छ।

गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिँदै यस्ता घटना दोहोरिन नदिन सडक सुरक्षासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिनुभयो। दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पनि उहाँले निर्देशन दिनुभएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई सचेत गराइएको जानकारी दिनुभयो। निर्वाचनको समय नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलता बढेकाले यातायात व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई सक्रिय बन्न आग्रह गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस राति १ः३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भंसेगौडामा त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २५ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box