कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर, १० फागुन – भोजपुर सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ। अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबाली, विशेषगरी तरकारी उत्पादनतर्फ उन्मुख भएका हुन्।

वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएकाले किसानको सहभागिता उल्लेख्य रूपमा बढेको जनाइएको छ।

हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन्। गोलभेँडा, काउली, बन्दकोभी, सिमी, खुर्सानी र हिउँदे आलुजस्ता तरकारी उत्पादन हुँदै आएको छ। केही किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्यास सुरु गरेका छन्। तरकारी बिक्रीबाट घरखर्च चलाउन र बचत गर्न सहज भएको किसानको भनाइ छ।

वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। वडाध्यक्ष जयबहादुर तामाङका अनुसार कोदारलाई तरकारी उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सिँचाइ व्यवस्थापन र आधुनिक प्रविधि विस्तारमा जोड दिइएको छ।

बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम तथा आसपासका बजारमा सहजै खपत हुने गरेको छ। राम्रो यातायात पहुँचका कारण किसानले उचित मूल्य पाउने गरेका छन्। केही किसानले सामूहिक रूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास थालेपछि आम्दानीमा थप वृद्धि भएको बताइएको छ।

स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सहयोग पुगेको जनाइएको छ। व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा सकारात्मक संकेत देखाउन थालेको छ।

Facebook Comments Box