धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा (बाँके), २५ मङ्सिर – डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार पछिल्ला वर्षहरूमा धार्मिक सद्भावको अनौठो र अनुकरणीय स्थलका रूपमा स्थापित हुँदै आएको छ। कम्मर शाह बाबाको सम्झनामा सञ्चालन हुने मेलामा हिन्दू र मुस्लिम दुवै समुदायका हजारौँ श्रद्धालुहरू आफ्नो मनोकामना पूरा होस् भनी वर माग्न आउने गर्छन्।

यहाँ बसोबास गर्ने हिन्दू–मुस्लिम समुदायबीचको सहअस्तित्व र विश्वास यही मेलामा स्पष्ट देखिने स्थानीयहरूले बताउँछन्। वडाध्यक्ष झङ्कबहादुर थापाका अनुसार, धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसहरू मजारमा सँगै पूजा–प्रार्थना गर्न आउँछन्।

“यहाँ कुनै पनि धर्म वा जातप्रति भेदभाव गरिँदैन,” उहाँले भन्नुभयो, “मजार संरक्षण र व्यवस्थापन समितिमा सबै धर्म र समुदायको प्रतिनिधित्व छ, जसले मेलालाई सामाजिक सद्भावको नमूना बनाएको छ।” मजार व्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले पनि कम्मर शाह बाबालाई सिद्धिप्राप्त मुस्लिम संतका रूपमा सम्मान गरिने बताउँदै, “यहाँ आशिर्वाद मागे पूरा हुन्छ भन्ने गहिरो जनविश्वासका कारण हिन्दू–मुस्लिम सबै धर्मावलम्बीको ठूलो भीड लाग्ने गर्छ,” भन्नुभयो।

स्थानीय अगुवा शकील खानका अनुसार कम्मर शाह बाबाले जीवनभर सबै मानव जातिको हितका लागि काम गर्नुभएको र कुनै धर्म–सम्प्रदाय हेर्दैनथ्यो। यही कारण मजार वर्षौँदेखि सबै समुदायका मानिसहरूको साझा आस्था र सद्भावको केन्द्र बन्दै आएको छ।

मेला बाँकेका स्थानीय मात्र होइन, भारतका सीमावर्ती क्षेत्र—बाबागञ्ज, नानपारा, श्रावस्ती—बाट समेत श्रद्धालु भित्रिने भएकाले यसको सांस्कृतिक र सामाजिक महत्व झनै बढेको डम्बर बुढाथोकी बताउनुहुन्छ। उहाँका अनुसार, यो मेला धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी भाइचाराको सशक्त माध्यम रूपमा विकसित हुँदै गएको छ।

Facebook Comments Box