एक वर्षमा करिब १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस – सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले गोरखास्थित मनास्लु क्षेत्रको भ्रमण गरेका छन्। बेमौसमी बाढीपहिरो, हिमपात तथा विभिन्न सामाजिक आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।

एमक्यापले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल १४ हजार ९८० जना पर्यटक मनास्लु क्षेत्रमा प्रवेश गरेका छन्। तीमध्ये १४ हजार ७३८ जना विदेशी, ३४४ जना सार्क राष्ट्रका र २४० जना स्वदेशी पर्यटक रहेका छन्। सन् २०२४ मा भने १२ हजार ८०० विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए।

एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार सन् २०२५ मा १४ हजार ७२१ जनाले अनलाइन प्रणालीमार्फत प्रवेश अनुमति लिएका थिए भने १७ जनाले जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएका थिए। पर्यटक प्रवेश शुल्कबाट सन् २०२५ मा रु तीन करोड ८५ लाख ८६ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो। जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट रु तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ।

मनास्लु क्षेत्रमा प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार, अन्य विदेशी पर्यटकले रु तीन हजार र नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा शुल्क नबुझाई प्रवेश गर्न खोजेमा जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर शुल्क तिर्नुपर्ने प्रावधान रहेको एमक्यापले जनाएको छ। एमक्यापले सन् २०२५ देखि नेपाली पर्यटकको विवरणसमेत सङ्कलन गर्न सुरु गरेको जनाएको छ।

मनास्लु क्षेत्रमा पछिल्ला वर्षहरूमा पर्यटकको आगमन निरन्तर बढ्दो क्रममा रहेको छ। एमक्यापका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए। एमक्याप प्रमुख शेरचनले पर्याप्त स्रोतसाधनको व्यवस्थापन गर्न सके केही वर्षमै मनास्लु क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुनसक्ने बताउनुभयो।

Facebook Comments Box