बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
काठमाडौँ, ६ फागुन – बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना व्यक्त गर्नुभएको छ। ढाकास्थित नेपाली राजदूतावासका अनुसार मङ्गलबार साँझ परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भएको भेटमा प्रधानमन्त्री रहमानले नेपालमा हुन लागेको संसदीय निर्वाचनको सफलताको शुभकामना दिनुभएको हो।
भेटका क्रममा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा रहमानलाई बधाई दिँदै प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो। सन्देशमा प्रधानमन्त्री कार्कीले दुवै देशका साझा हितका लागि आपसी सम्मान, प्रतिबद्धता र साझेदारीको भावनाका साथ सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ।
राजदूतावासका अनुसार मन्त्री शर्माले लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभएको थियो।
प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेशप्रति देखाइएको सद्भाव प्रतिबिम्बित गरेको बताउनुभयो। दुवै पक्षबीच नेपाल–बङ्गलादेश सम्बन्ध थप सुदृढ बनाउने विषयमा सहमति व्यक्त गर्दै व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा र पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।
त्यसअघि मन्त्री शर्मा नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी हुनुभएको थियो। साथै उहाँले बङ्गलादेश जमत-ए-इस्लामीका नेता शफिकुर रहमानसँग पनि भेटवार्ता गर्नुभएको दूतावासले जनाएको छ। परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उहाँ गत सोमबार ढाका प्रस्थान गर्नुभएको थियो।

