स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ, ६ फागुन – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई भित्तेपात्रो वा पात्रो प्रकाशन गरे रु एक लाखसम्म जरिवाना हुने भएको छ। समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा समितिबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार कानुनअनुसार समितिको स्वीकृतिविना पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न पाइँदैन।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) अनुसार समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने प्रावधान छ। दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृति नलिई प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

स्वीकृतिविना प्रकाशन गरिएको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ। बेच्ने प्रयोजनका साथै निःशुल्क वितरण गर्न प्रकाशन गरिने पात्रो वा भित्तेपात्रोका लागि समेत अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने समितिले जनाएको छ।

समितिले स्वीकृतिका लागि शुल्कसमेत निर्धारण गरेको छ। शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरका लागि रु दुई हजार, निःशुल्क वितरणका लागि रु पाँच हजार तथा मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डरका लागि रु १० हजार शुल्क तोकिएको छ।

Facebook Comments Box