नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा
काठमाडौं, ३ वैशाख – नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो ।
समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ । दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ ।
एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ । मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् ।
अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ । समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ ।
यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।