आईसीसी टी–२० विश्वकपमा नेपाललाई १२ वर्षपछि ऐतिहासिक जित

काठमाडौँ, ६ फागुन – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा स्कटल्यान्डले दिएको १ सय ७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। यो जितसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पारेको हो।

नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा दुई जित निकालेको थियो। त्यसयता विश्वकपमा जितविहीन रहेको नेपालले दोस्रो सहभागितामा सन् २०२४ मा जितको खडेरी अन्त्य गरेको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो उनको लगातार दोस्रो अर्धशतक हो।

गुल्सन झाले १७ बलमा २४ रन बनाउँदै अविजित रहे। चौथो विकेटका लागि दीपेन्द्र र गुल्सनले ७३ रनको अविजित साझेदारी गरेपछि नेपाल जिततर्फ अग्रसर भएको थियो। ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन बनाउँदा ६ छक्का प्रहार गरे। आशिफ शेखले ३३ तथा कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए। स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिए।

त्यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। स्कटल्यान्डका लागि माइकल जोन्सले ७१ रन बनाउँदा ब्रान्डोन म्याकमुलेनले २५ रन जोडे। जर्ज मुन्सेले २७ रनको योगदान दिए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट हात पारे।

Facebook Comments Box