आज २६३औँ सेना दिवस मनाइँदै
काठमाडौँ, ३ फागुन : नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ। रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिनेछ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँ, परेड, तोप बढाइँ, कवाज तथा विभिन्न सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। जङ्गी अड्डाअन्तर्गत पृतना, बाहिनी, गण र गुल्मका साथै कूटनीतिक नियोग तथा शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि विभिन्न कालखण्डमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत विसं १८१९ बाट भएको मानिन्छ। अनुशासन, चेन अफ कमान्ड र राजनीति निरपेक्ष चरित्र सेनाको प्रमुख विशेषता रहँदै आएको छ।
अन्तरराष्ट्रिय क्षेत्रमा पनि नेपाली सेनाले विश्वसनीय फौजको छवि बनाएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ सन् १९५८ देखि नेपाली सेना विभिन्न मिसनमा सहभागी हुँदै आएको छ। हालसम्म ४४ शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकले योगदान गरिसकेका छन्। शान्ति स्थापनाका क्रममा ७४ सैनिकले ज्यान गुमाएका छन् भने ७७ सैनिक घाइते भएका छन्।
हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक खटाउने देशको सूचीमा नेपाल अग्रस्थानमा रहेको बताइएको छ। सेनाले विपद् व्यवस्थापन, सडक पूर्वाधार निर्माण तथा राष्ट्रिय गौरवका आयोजनामा पनि भूमिका निर्वाह गर्दै आएको छ। सेनाको व्यवस्थापनमा काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण कार्य अघि बढिरहेको छ।
साथै ऐतिहासिक संरचना संरक्षण, हिमाल सफाइ र विकास निर्माणका गतिविधिमा पनि सेना सक्रिय छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ।

