निर्वाचन १७ दिन बाँकी : आजदेखि प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ, ४ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान मितिभन्दा १५ दिनअघिदेखि मात्र निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ।
सोही प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गरेर मात्र प्रचार गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने चेतावनी दिइएको छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उल्लङ्घनकर्तामाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।
उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउने, दण्ड–जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ। दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशन गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ।

