निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ, ३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोगले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। आमनागरिकलाई मताधिकारको महत्व तथा मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले स्पष्ट पारेको छ।
आजदेखि सुरु भएको कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। आयोगका अनुसार स्वयंसेवकले मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रिया सम्बन्धी जानकारी दिनेछन्।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा सहभागिता वृद्धि गर्न र बदर मतको अनुपात घटाउन सहयोग पुग्ने विश्वास आयोगले लिएको छ। कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई सहयोग र समन्वय गर्न आयोगले अनुरोध गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

