सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौँ, २४ माघ – जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ।

श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित तीन दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तरराष्ट्रिय गोष्ठीपश्चात आज भएको निर्वाचनमा डा भुसाल सो संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।

डा भुसाल हाल नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष हुनुहुन्छ। सन् २०१७ देखि हालसम्म उहाँ सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको महासचिवको जिम्मेवारीमा रहनुभएको थियो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका जाइका अलमनाइहरूको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष डा भुसाल र उपाध्यक्ष डा किरण रुपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गर्नुभएको जानका महासचिव शान्तिलक्ष्मी शाक्यले राससलाई जानकारी दिनुभयो।

कार्यक्रममा नेपालका तर्फबाट डा भुसालको नेतृत्वमा छ सदस्यीय टोलीले सहभागिता जनाएको थियो। श्रीलङ्काका लागि जापानी राजदूत आकिको इसोमाताले सो संस्थाले जापान र सार्क क्षेत्रका देशहरूबीच सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै जापानबाट इमान्दारिता, जिम्मेवारीबोध, अनुशासन, समयनिष्ठता र मेहनत सिक्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सार्क क्षेत्रका जाइका अलमनाइहरूले गरेका गतिविधिबारे पनि प्रस्तुति दिइएको थियो। सार्क क्षेत्रका जाइका अलमनाइहरूको छाता सङ्गठनका रूपमा सो संस्थाको स्थापना सन् २००८ मा भएको हो। यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमा रहेको छ।

Facebook Comments Box