साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
कास्की, २४ माघ – पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
भारतले पहिलो हाफमा एक गोल गरेपछि दोस्रो हाफमा थप तीन गोल गरेको थियो। खेलको ४२औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। एलिजाबेथ लार्काले ६३औँ मिनेटमा गोल गरिन्।
६८औँ मिनेटमा भारतले पेनाल्टी पाएको थियो। बङ्गलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको अवसरमा पर्ल फर्नान्डेजले गोल गरिन्। त्यसपछि अन्विता रघुरामनले ८३औँ मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरिन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छन्। उत्कृष्ट गोलरक्षक भारतकी मुन्नी घोषित भइन् भने फेयर प्ले अवार्ड पनि भारतले जितेको छ। माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोली सहभागी थिए।

