सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको निधन
विराटनगर , २४ माघ – सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा शुक्रबार दिउँसो बेहोस भएर ढलेका घिमिरेको उपचारका क्रममा गएराति मृत्यु भएको हो।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक सञ्चालन भइरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी, सुनसरी पकलीका डीआईजी कुमार न्यौपानेका अनुसार घिमिरेलाई हृदयघात भएको थियो। बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको भए पनि उपचार सफल हुन सकेन।
डीआईजी न्यौपानेका अनुसार उपचारकै क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा एसपी घिमिरेको निधन भएको हो। उहाँको शव पोस्टमार्टमका लागि विराट टिचिङ अस्पतालकै शवगृहमा राखिएको छ।

