फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर, २४ माघ  – पाँचथरको फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ। नगरपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाइसकेको यकिन भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना नगरपालिका घोषणा गरिएको हो।

नगरपालिकाको तथ्याङ्कअनुसार १६ महिनादेखि २३ महिनासम्मका २७३ जना बालबालिकाले १५ महिनाभित्र अनिवार्य खोपको मात्रा पूरा गरेका छन् भने १५ महिनाभन्दा कम उमेरका ५६२ जना बालबालिकाले नियमित रूपमा निर्धारित खोप लगाइरहेका छन्। खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य रहेकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।

फिदिम नगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले नगर प्रमुख काफ्लेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभयो।

नगर प्रमुख काफ्लेका अनुसार यस वर्ष फिदिम नगरपालिका कोशी प्रदेशमै पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्ने पहिलो नगरपालिका बनेको छ। यद्यपि पाँचथर जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिकाले यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुनारले जानकारी दिनुभयो।

४७ हजार ८१० जनसङ्ख्या रहेको फिदिम नगरपालिकामा १५ महिनाभन्दा कम उमेरका ५६२ जना, १५ महिनादेखि २३ महिनासम्मका २७३ जना र २४ महिनादेखि ५९ महिनासम्मका एक हजार ६१७ जना बालबालिका रहेका छन्।

घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पहिलो वडा वडा नं ९ लुम्फाबुङ, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चौकी लालीखर्ककी स्वास्थ्यकर्मी मञ्जु सेलिङ, अगुवा स्वास्थ्यकर्मी रमादेवी न्यौपाने, उत्कृष्ट स्वास्थ्य चौकी रानीटार तथा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नरमाया रिमाललाई प्रशंसापत्र प्रदान गरिएको छ।

Facebook Comments Box