आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा आजदेखि सुरु
काठमाडौँ – विश्व क्रिकेटको महाकुम्भ मानिने आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आज (शनिबार) देखि सुरु हुँदैछ। विश्वकपका खेल भारतका पाँच सहरका पाँच स्टेडियम र श्रीलंकाका दुई सहरका तीन मैदानमा आयोजना हुनेछन्।
यसपटकको टी–२० विश्वकपमा कुल ५५ खेल हुनेछन्। भारतमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेल सञ्चालन हुनेछन्।
श्रीलंकातर्फ कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियम र एसएससी क्रिकेट मैदान तथा क्यान्डीको पालकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपमा सहभागी नेपालले समूह चरणका आफ्ना चारवटै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ। विश्वकपको उद्घाटन दिन आज तीन खेल हुनेछन्। पहिलो खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान ११ः१५ बजे सुरु हुनेछ।
भारततर्फ आज दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेष्ट इण्डिजबीच दिउँसो ३ः१५ बजे प्रतिस्पर्धा हुनेछ। सो समूहमा नेपाल पनि रहेको छ। दुईपटकको च्याम्पियन वेष्ट इण्डिज अनुभवी टोलीका रूपमा मैदान उत्रनेछ भने स्कटल्यान्ड अन्तिम समयमा विश्वकपमा स्थान पाएको टोली हो। सुरक्षाका कारण देखाउँदै बंगलादेशले भारत भ्रमण अस्वीकार गरेपछि आईसीसीले वरियताका आधारमा स्कटल्यान्डलाई अवसर दिएको हो।
पहिलो दिनको अन्तिम खेलमा साविक विजेता भारतले अमेरिकासँग शनिबार राति ७ः१५ बजे मुम्बईको वानखेडे स्टेडियममा खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपालले भने आइतबार दुईपटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणपछि शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्। सुपर–८ का खेल फेब्रुअरी २२ देखि सुरु हुनेछन्। सुपर–८ बाट शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ भने विश्वकपको फाइनल खेल मार्च ८ मा हुने तालिका छ।

