निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय
काठमाडौँ, २३ माघ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि काउन्सिलले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता तथा मिडिया सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–सल्यानटारमा सम्पन्न काउन्सिलको १२औँ बैठकले आचारसंहिता सम्बन्धी अध्ययन, अनुसन्धान र जागरणका कार्यक्रमलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकतामा राखेर अघि बढाउने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।
बैठकले पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञहरूको रोष्टर अद्यावधिक गर्ने तथा पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ र समयानुकूल बनाउने निर्णय गरेको छ ।
यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार तथा परिमार्जन गरिने निर्णय गरिएको छ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने क्रममा देखिएका समस्या र चुनौती समाधान गर्न अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न र गराउन सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ ।
यसैबीच, बैठकले धादिङ जिल्लामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र व्यवस्थित विकासका लागि सञ्चारमाध्यममार्फत प्राथमिकतासाथ प्रचारप्रसार गर्न आग्रह गर्ने निर्णय गरेको छ । ती क्षेत्रहरूमा त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम तथा नीलकण्ठ नगरपालिकास्थित भैरवी माई मन्दिरलगायत स्थल रहेका छन् ।

