धाप्लाङघाट मोटरेबल पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ, २३ माघ  – खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । लामो समयसम्म ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको पुल निर्माणले तीव्रता पाएपछि खोटाङको दक्षिणी क्षेत्रका नागरिकमा आशा जागेको छ ।

बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटमा करिब २०० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७३ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको पुल निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीय निरास हुँदै आएका थिए ।

विसं २०७६ मै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण कम्पनीको लापरवाहीले काम अलपत्र परेको थियो । पछिल्लोपटक खोटाङ प्रदेशसभा (२) का सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईको निरन्तर पहल र खबरदारीपछि पुल निर्माणले पुनः गति लिएको स्थानीयले बताएका छन् ।

सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुलमा लिड कम्पनी स्वच्छन्द कन्स्ट्रक्सन कालोसूचीमा परेपछि ज्वाइन्ट भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले काम अगाडि बढाएको हो । हाल पुलको स्ल्याब ढलान सुरु भइसकेको छ ।

निवर्तमान मन्त्री राईका अनुसार पुलमा कुल पाँचवटा स्ल्याब रहनेछन् । “एउटा स्ल्याब ढलान भइसकेको छ । यसै वर्ष कम्तीमा तीनवटा स्ल्याब ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धता छ”, उहाँले भन्नुभयो । उहाँले पुल सञ्चालनमा आएपछि खोटाङको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

थपिएको म्यादअनुसार विसं २०८४ जेठ १९ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ भने विसं २०८३ चैतभित्र सवारीसाधन वारपार गराउने लक्ष्य राखिएको निर्माण कम्पनीले जनाएको छ । सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार हालसम्म पुल निर्माणको करिब ४३ प्रतिशत काम सम्पन्न भएको छ ।

पहिले वेल फाउन्डेसन प्रविधिमा सुरु गरिएको पुल निर्माण सम्भव नभएपछि डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधिबाट काम भइरहेको छ । पुलका लागि आवश्यक छवटा पिलरमध्ये चारवटा निर्माण भइसके पनि अघिल्लो वर्षको बाढीले एउटा पिलर बङ्ग्याएकाले पुनर्निर्माण आवश्यक परेको छ । हाल तीनवटा पिलर निर्माण बाँकी छन् ।

धाप्लाङघाटमा दुवैतर्फ कच्ची सडक रहे पनि पक्की पुल नहुँदा ठूला सवारीसाधन सञ्चालन हुन सकेको छैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार हुँदै आएका छन् । पुल नहुँदा ढुवानी खर्च बढ्नुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराले बताउनुभयो ।

“धाप्लाङघाट पुल नहुँदा हामी नाकाबन्दीमा परेजस्तै अवस्थामा छौँ । अहिले कामले गति लिएपछि आशा बढेको छ, तर निरन्तर निगरानी आवश्यक छ”, उहाँले भन्नुभयो । पुल निर्माण सम्पन्न भएपछि बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रका बासिन्दाको दैनिकी सहज हुने अपेक्षा गरिएको छ । स्थायी पुल निर्माण सम्पन्न नभएसम्म सवारी आवागमन सहज बनाउन अस्थायी बेलिब्रिज जडानको काम पनि सुरु गरिएको जनाइएको छ ।

Facebook Comments Box