निर्वाचन ३१ दिन बाँकीः प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो

काठमाडौँ, १९ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

त्यसैगरी, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छपाइ भइसकेको छ। निर्वाचन शिक्षा प्रवाह गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको जनाएको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत् प्रसारण गरिएको छ।

आयोगका अनुसार यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गरी निर्वाचनको स्वच्छता प्रवर्द्धन, नागरिकलाई आधिकारिक र विश्वासनीय सूचना उपलब्ध गराउने तथा मिथ्या र भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख र प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।

सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो।

Facebook Comments Box