राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौँ, १९ माघ – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ जापान जानुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गर्नुभयो।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन्। राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागी हुनुहुनेछ। माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सोही दिन जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग भेटवार्ता हुने कार्यतालिका छ।

यसका साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेट पनि हुनेछ। राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ।

नेपाल–जापान सम्बन्ध १८औँ शताब्दीको अन्त्यतिर सुरु भई १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि औपचारिक बनेको हो। नेपालले सन् १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा दूतावास स्थापना गरेका छन्। ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ। जापानले सन् १९५४ देखि नेपालका सामाजिक–आर्थिक विकास परियोजनामा सहयोग गर्दै आएको छ।

विद्युत्, सडक, पुल, खानेपानी, दूरसञ्चारलगायत पूर्वाधार क्षेत्रमा जापानी सहयोग उल्लेखनीय रहँदै आएको छ। सिन्धुली सडक, कुलेखानी (१ र २), कालीगण्डकी ‘ए’, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जापानी सहयोगका प्रमुख परियोजनामध्ये पर्छन्। हाल नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार तथा चौबाटो सुधार परियोजना सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत सञ्चालनमा छन्।

Facebook Comments Box