रास्वपाले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ, १७ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ। बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको रास्वपा सांसद हरि ढकालले जानकारी दिए। दुई वर्षअघि एमाले नेतृत्वको सरकारले खारेज गरेको ‘सांसद विकास कोष’ भनेर पनि चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउँदै वर्तमान सरकारले प्रत्यक्ष निर्वाचित हरेक प्रतिनिधिसभा सदस्यलाई आफ्नो क्षेत्रमा विकासका लागि ५ करोड रुपैयाँ दिने घोषणा आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको छ।

पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका कारण कार्यवहाक दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो।

Facebook Comments Box