तेस्रो पौवादुङमा गोल्डकप आजदेखि सुरु
भोजपुर, १४ माघ – भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीको सहभागिता रहनेछ।
“हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसीयाली” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा भोजपुरस्थित नेपाली सेनाको नयाँश्रीनाथ गणसहित जिल्ला भित्र र बाहिरका १६ टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो।
पौवादुङमा गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा आयोजना हुन लागेको गोल्डकपमा जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लब धरान, छथर गाउँपालिका (तेह्रथुम), योङ ब्वायज धरान, कोदार फुटबल क्लब भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता रहनेछ।
त्यसैगरी मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाले पनि प्रतिस्पर्धा गर्नेछन्।
माघ १४ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो। आजको उद्घाटन खेल नेपाली सेनाको नयाँश्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास (धनकुटा) बीच हुनेछ।

