देशभर १६ आगलागी, दुई जनाको मृत्यु

काठमाडौँ, १४ माघ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर २० वटा विपद्का घटना भएका छन् । तीमध्ये १६ वटा आगलागी र चार वटा जनावर आक्रमणका घटना रहेका छन् । विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घटनाबाट करिब २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । आगलागीका घटना सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई–दुई तथा सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान र बझाङमा एक–एक वटा भएका छन् ।

अधिकांश आगलागी असावधानीका कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । यस्तै, सुनसरी, सप्तरी, चितवन र दैलेखमा जनावर आक्रमणका घटना भएका छन् । सुक्खा मौसममा आगलागीको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Facebook Comments Box