निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकिए

काठमाडौँ, १४ माघ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका रूपमा तोकिएको हो।

आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषय बाहेकका अन्य विषयको अनुगमन जिम्मेवारी दिएको जनाएको छ। त्यसैगरी, प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आर्थिक विषयसँग सम्बन्धित अनुगमनका लागि फरक–फरक कार्यक्षेत्रसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। उक्त आचारसंहिता यही माघ ४ गतेदेखि लागू गरिएको हो।

Facebook Comments Box