गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना
काठमाडौँ, १३ माघ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र तराई भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको विभागले जनाएको छ।

