खडेरीले सुक्न थाल्यो बेतना सिमसार
मोरङ, २९ असार – मोरङको बेलबारी नगरपालिका–४ मा रहेको बेतना सिमसार क्षेत्र पानीको चरम अभावका कारण दिनप्रतिदिन सुक्दै गएको छ। लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पोखरी सुक्न थालेका, माछा मर्न थालेका र सिँचाइ अभावमा रोपाइँ समेत प्रभावित भएको छ।
बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूका अनुसार बेतना सिमसारको पानीबाट बेलबारी क्षेत्रका सयौँ बिघा खेतमा सिँचाइ हुने गरे पनि यो वर्ष पानीको अभावले सिँचाइ सम्भव भएको छैन। सिमसारको पानी ड्याममा रोक्दा किसानले धान रोप्न नपाउने भएकाले ड्याम खोलेर पानी खेततर्फ पठाइएको उहाँले बताउनुभयो।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना सिमसारमा रहेका दुई पोखरी सुक्न थालेपछि त्यसमा रहेका माछाहरू धमाधम मर्न थालेका छन्। सोही पोखरीबाट ६ पैनी हुँदै १२ सय बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो, तर अहिले पोखरीको पानीको सतह घटेपछि धानलगायतका बालीनाली सुक्न थालेका छन्।
स्थानीय किसान हरिप्रसाद मिश्रका अनुसार अहिले खेतमा लगाइएको धानमा पानी नपर्दा बालीनाली सुक्न थालेका छन्। पोखरीमा रहेका प्राकृतिक मूलहरू समेत सुकेका छन् भने अन्यत्रबाट बगेर आउने पानी पनि रोकिएको छ। जानकारहरूका अनुसार लामो समयदेखि वर्षा नपरेपछि पानीका स्रोतहरू नै सुक्न थालेका हुन्।
बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँले पोखरीमा पानी घट्दै गएकाले थप चिन्ता बढेको बताउनुभयो। माछा मर्न थालेपछि समस्या समाधानका लागि पहल थालिएको पनि उहाँले जानकारी दिनुभयो।
सिमसार विशेषज्ञ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलका अनुसार अत्यधिक र अनियन्त्रित पानीको प्रयोग, अव्यवस्थित संरचना निर्माण, र खेती प्रणालीमा पानीको अपव्यवस्था सिमसार सुक्दै जानुको प्रमुख मानवीय कारण हुन्।
पोखरेलका अनुसार बेतना सिमसारमा आसपासका जङ्गल र खोल्साबाट बग्ने पानी भण्डारण गरेर सिँचाइका लागि प्रयोग गरिन्छ। तर पछिल्लो समय कङ्क्रिट संरचना बढेसँगै पानी अडिन गाह्रो भएको छ। भू–जल सतहमा नकरात्मक असर परेसँगै पानी सुक्न थालेको उहाँले बताउनुभयो।
यस्तै, विगतका वर्षमा वर्षा एकै समयमा अत्यधिक, अन्य समयमा अत्यन्त कम हुने प्रवृत्तिले जमिन रसाउने र पानी भण्डारण हुने क्षमता घटाएको पनि उहाँको भनाइ छ। उहाँले समस्या समाधानका लागि पारिस्थितिकी प्रणालीको पुनःस्थापना, पानी पुनःभरणको व्यवस्था, जलाशय क्षेत्रको सुधार, र दिगो पानी उपयोग मा जोड दिनुपर्ने सुझाव दिनुभएको छ। यस विषयमा थप अनुसन्धान आवश्यक रहेको पनि उहाँको भनाइ छ।

