पहिरो र सडक भासिँदा हेटौँडाबाट काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध

मकवानपुर । अविरल वर्षापछि पहिरो, सडक भासिने तथा विद्युत्का पोल ढल्ने क्रम बढ्दा हेटौँडाबाट काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ । अन्य सडक अवरुद्ध भएपछि अत्यावश्यक सामग्री तथा सवारीसाधनलाई त्रिभुवन राजपथबाट आवतजावत गराइएको छ ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथको मकवानपुरतर्फको सडक सञ्चालनयोग्य भए पनि ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिनुभयो ।

यस्तै, हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा सडक भासिएको छ । सो स्थानमा एकतर्फी आवागमनसमेत जोखिमपूर्ण भएपछि चालकलाई सिस्नेरी वा खानीखेत हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, वडा नं. ६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ती स्थानमा जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानीको रजैया नजिक माथिबाट पहिरो र ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरो हटाउन जेसीबी परिचालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

यसैगरी, धरान–चतरा सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युत्का पोल ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पोल हटाएर सडक सञ्चालनमा ल्याउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box