बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी, नेपालगञ्जमा समर्थक घाइते

काठमाडौँ, १२ माघ – काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।

उजुरीमा सामाजिक सञ्जालमार्फत प्रमाणबिनै गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक बहसको मर्म उल्लंघन गरेको आरोप लगाइएको छ।

बालेनले प्रयोग गरेका शब्दले व्यक्तिको प्रतिष्ठामा क्षति पुग्ने र मतदातालाई भ्रमित पार्ने जोखिम रहेको जनाइएको छ। उजुरीकर्ताले अभिव्यक्तिको छानबिन गरी आचारसंहिता विपरीत ठहर भए आवश्यक कारबाही गर्न माग गरेका छन्।

यसैबीच, महोत्तरीलगायत क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषयमा पनि छानबिनको माग गरिएको छ।

त्यस्तै, नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक बालेन शाहका समर्थक सवार गाडीबाट खस्दा कम्तीमा पाँच जना घाइते भएका छन्। बालेन नेपालगञ्ज जाने क्रममा समर्थकहरू विमानस्थल पुगेका थिए।

गाडीको पछाडिको ढालाबाट खसेका उनीहरूलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिनुभयो। विमानस्थलभित्रको सडक भएकाले गाडी तीव्र गतिमा नभएको प्रहरीले जनाएको छ।

Facebook Comments Box