अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
काठमाडौँ, ९ पुस – राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको छ । हालसम्म कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक परेका सेवाग्राहीलाई तत्कालै राहदानी उपलब्ध गराइने जनाएको छ ।
विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो । सो निर्णयअनुसार राहदानी पुस्तिकाको आपूर्ति भएपछि विभाग पूर्ण क्षमतामा राहदानी वैयक्तिकरणको काममा फर्किएको जनाएको छ ।
अब जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई पूर्ण क्षमतामा राहदानी उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ । विभागका अनुसार गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ ।
त्यसपछि आवेदन दिएका सेवाग्राहीलाई पनि क्रमशः राहदानी वितरण गरिनेछ । अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भएकाले अब राहदानी वितरण प्रक्रिया सहज र नियमित हुने विभागले जनाएको छ ।

