राष्ट्रिय सभा निर्वाचनः कांग्रेस–एमाले–लोसपा तालमेल अनुमोदन, कांग्रेस पहिलो दल

 काठमाडौं,  ११ माघ – राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको तालमेल अनुमोदन भएको छ । १८ पदका लागि सम्पन्न निर्वाचनमा तालमेलअनुसार दलीय भागबण्डामा उम्मेदवारहरू विजयी भएका छन् । निर्वाचनमा नेपाली कांग्रेसबाट ९ जना, नेकपा एमालेबाट ८ जना र लोसपाबाट एक जना उम्मेदवार विजयी भएका छन् ।

लोसपाका उम्मेदवार महन्थ ठाकुर निर्वाचित भएसँगै राष्ट्रिय सभाको दलीय समीकरण परिवर्तन भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद थिए । आइतबार निर्वाचित भएका सदस्यहरू थपिएसँगै कांग्रेसका सांसद संख्या २५ पुगेको छ । यससँगै कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ । यसअघि यो पार्टी राष्ट्रिय सभाको पहिलो दल थियो । नेकपा माओवादी केन्द्र (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभामा २५ सदस्य थिए । तीमध्ये ८ जना सांसद आगामी फागुन २० गते पदमुक्त हुँदैछन् । आइतबारको निर्वाचनमा यस पार्टीका उम्मेदवार कुनै पनि सिटमा विजयी हुन सकेनन् । अब राष्ट्रिय सभामा यस पार्टीका सांसद संख्या १७ मा सीमित हुनेछ ।

तेस्रो स्थानमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद छन् । तीमध्ये ८ जना आगामी फागुन २० गते पदमुक्त हुँदैछन् । आइतबारको निर्वाचनमा ८ जना नै निर्वाचित भएकाले एमालेको हैसियत यथावत् तेस्रो स्थानमै कायम रहनेछ ।

आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका एक–एक जना सांसद पदमुक्त हुँदैछन् । यसपटकको निर्वाचनमा लोसपाबाट एक जना निर्वाचित भएकाले राष्ट्रिय सभामा लोसपाको प्रतिनिधित्व एक जनामै कायम रहनेछ । जनता समाजवादी पार्टी नेपालका तीनमध्ये दुई जना मात्रै आगामी फागुनपछि राष्ट्रिय सभामा रहनेछन् ।

यस्तै, राष्ट्रिय जनमोर्चाका एक जना सांसद र तीन जना मनोनीत सांसद रहनेछन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेकाले उहाँको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ सदस्य मनोनीत गर्नेछन् । राष्ट्रिय सभा निर्वाचनमा नागरिकले प्रत्यक्ष मतदान गर्दैनन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यहरू मतदाता हुन्छन् ।

यस निर्वाचनमा सातै प्रदेशका ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका एक हजार ५०६ प्रमुख तथा उपप्रमुख मतदाता थिए । मतदाताको मतभार फरक–फरक हुने व्यवस्था छ । प्रदेश सभाका एक जना सदस्यको मतभार ५३ र स्थानीय तहका एक जना प्रमुख वा उपप्रमुखको मतभार १९ तोकिएको छ ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको थियो । निर्वाचित सांसदहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ भने प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा निर्वाचनको परिणाम पूर्वानुमान गर्न सकिने खालको रहेको टिप्पणी गर्नुभएको छ । “यो फिक्स मतदाता भएको निर्वाचन हो, आम निर्वाचन जस्तो होइन,” उहाँले भन्नुभयो, “निर्वाचित प्रतिनिधिहरूले मतदान गर्ने भएकाले परिणामको अनुमान गर्न सकिन्छ।” उहाँका अनुसार पार्टीभित्र निर्वाचन परिणामको समीक्षा गरिनेछ ।

निर्वाचनअघि प्रमुख दलहरूबीच तालमेलको प्रयास भए पनि भागबण्डामा सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको थियो । तर परिणाम तालमेल गर्ने दलहरूको पक्षमा आएको छ । “तालमेल भएको भए केही सिट आउन सक्थ्यो,” नेता सापकोटाले भन्नुभयो, “तालमेल भएन, त्यसैले परिणाम पनि आएन।”

Facebook Comments Box