रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग
रामेछाप, १० माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको आवेदन अवधि पुनः थप गरिएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिनको म्याद थप गरेको हो ।
यसअघि प्रकाशित विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन माग गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले राससलाई जानकारी दिनुभयो । रामेछाप जिल्लामा निर्वाचनका लागि कुल एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म करिब ९०० जनाले मात्र आवेदन दिएका छन् । ती आवेदकलाई तालिम दिने कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताउनुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागी हुन छुटेका तथा नयाँ आवेदन दिन चाहनेहरूका लागि माघ ११ गतेसम्म पुनः आवेदन दिन सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

