आज देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, ८ फागुन – देशमा पुनः पश्चिमी वायुको प्रभाव सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार शनिबार साँझबाट नेपालमा पश्चिमी न्यून प्रणालीको प्रभाव सुरु भएको हो।
जसका कारण आज दिउँसो पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
आज काठमाडौंमा उपत्यकामा पनि कतैकतै पानी पर्ने सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्। यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

